एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङको चीन भ्रमण सुरु हुनुअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार बिहान करिब ७ः५० बजे राजधानी क्षेत्रबाट प्रक्षेपित ती क्षेप्यास्त्र करिब ९०० किलोमिटर उडेर समुद्रमा खसेका छन् ।
दक्षिण कोरिया, अमेरिका र जापानले यस प्रक्षेपणलाई क्षेत्रीय तथा विश्व शान्तिका लागि गम्भीर खतरा भएको बताएका छन् । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गरेका छन् ।
प्रक्षेपणपछि दक्षिण कोरियाले आपतकालीन राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएको छ। बैठकमा संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव उल्लङ्घन हुने गरी गरिएका क्षेप्यास्त्र परीक्षण तत्काल रोक्न उत्तर कोरियालाई आग्रह गरिएको छ ।
विशेषज्ञहरूका अनुसार उत्तर कोरियाले आगामी वर्कर्स पार्टी सम्मेलनअघि आफ्नो सैन्य क्षमता प्रदर्शन गर्ने उद्देश्यले यस्ता गतिविधि तीव्र पारेको देखिन्छ ।
राष्ट्रपति लीले चीन भ्रमणका क्रममा उत्तर कोरियासम्बन्धी विषयमा चिनियाँ नेतृत्वसँग छलफल गर्ने तयारी गरेका छन् ।














