सर्लाही, २० पुस । नेकपा एमाले परित्याग गरी सर्लाहीको हरिवन नगरपालिका–१ भोकटेनी निवासी बिनोद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
उनलाई जसपा नेपालका सर्लाही जिल्ला अध्यक्ष रणधिर यादवले एक कार्यक्रमबीच औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पार्टी नेतृत्वले यादवको आगमनलाई संगठन विस्तार र पार्टी सुदृढीकरणको महत्वपूर्ण उपलब्धिका रूपमा मूल्यांकन गरेको छ ।
बिनोद यादव यसअघि किसान महासंघका केन्द्रीय महासचिवको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । पार्टी प्रवेशपछि आफ्नो धारणा राख्दै उनले नेकपा एमालेले मधेश विरोधी गतिविधि गर्दै आएको आरोप लगाए ।
उनले मधेशी समुदायको हकहित, अधिकार र किसानका समस्यालाई निरन्तर उठाउँदै आएको मधेश केन्द्रित दल जसपा नेपालमै आबद्ध हुनु उचित ठानेर पार्टी प्रवेश गरेको बताए ।
यादवले आगामी दिनमा मधेशी अधिकार, किसानका मुद्दा र सामाजिक न्यायका सवालमा पार्टीको नीतिअनुसार सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।














