काठमाडौँ, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा आयोजना गर्ने भएको छ ।
पार्टीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सोमबार दिउँसो १ बजे काठमाडौँस्थित राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ ।
रास्वपाका अनुसार उक्त सभामार्फत पार्टीबीचको एकता प्रक्रियाले पूर्णता पाउनेछ भने आगामी दिनमा अवलम्बन गरिने राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र भावी योजनाबारे समेत स्पष्ट पारिनेछ। एकता घोषणा सभालाई पार्टीका लागि महत्वपूर्ण राजनीतिक कार्यक्रमको रूपमा लिइएको छ ।
यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो।
ती सहमतिलाई औपचारिक रूप दिन सोमबार बृहत्तर एकता घोषणा सभा आयोजना गर्न लागिएको रास्वपाले जनाएको छ ।
पार्टी नेतृत्वका अनुसार एकतामार्फत वैकल्पिक राजनीति, सुशासन र नागरिककेन्द्रित विकासको एजेन्डालाई अझ सशक्त रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।














