काठमाडौं, २० पुस । राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच चुनावी तालमेलको प्रयास तीव्र बनेको छ ।
यसै क्रममा आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ । ओली–प्रचण्ड भेटमा राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको भए पनि सहमति भए–नभएकोबारे सार्वजनिक गरिएको छैन ।
यसअघि पनि भेटको तयारी भए तापनि प्रचण्डको यात्रा ढिलाइका कारण भेट हुन नसकेको एमालेले जनाएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा प्रमुख दलहरूबीच निरन्तर छलफल भइरहेको छ।
कांग्रेसको तर्फबाट तालमेलको प्रस्ताव आएको भए पनि अन्तिम टुंगो भने लागिनसकेको उनले बताए । राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ, जसमध्ये १८ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ। पुस २३ गते मनोनयन दर्ताको समय नजिकिँदै जाँदा दलहरूबीच संवाद बाक्लिएको हो ।
नेताहरूका अनुसार प्रमुख तीन दल एक्लाएक्लै चुनाव लड्दा कठिन हुने भएकाले तालमेलको प्रयास भइरहेको हो । यद्यपि, छलफल औपचारिक निष्कर्षमा पुगिसकेको छैन ।














