काठमाडौँ, १९ पुष । दक्षिणी तथा मध्य मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
भूकम्पको केन्द्रबिन्दु ग्वेरेरो राज्यको सान मार्कोस नजिकै, लोकप्रिय पर्यटकीय सहर अकापुल्को आसपास रहेको जनाइएको छ । ग्वेरेरो राज्यकी गभर्नर इभेलिन साल्गाडोले ५० वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरेकी छन् भने मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले ६० वर्षीय एक पुरुषको मृत्यु भएको जानकारी दिएकी छन् ।
भूकम्पपछि प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन र उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।














