काठमाडौं, १८ पुस। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन्। शुक्रबार मध्याह्न सर्वोच्च अदालत पुगेकी भण्डारीले करिब डेढ घण्टा त्यहाँ बिताएकी थिइन्। अवलोकनका क्रममा उनले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरूसँग छलफल गरेकी थिइन्। त्यसपछि भण्डारी र प्रधानन्यायाधीश राउतबीच करिब ४५ मिनेट एक्लै भेटवार्ता भएको स्रोतले जनाएको छ।
मुख्य रजिस्ट्रार बिमल पौडेलले पूर्वराष्ट्रपति भण्डारीलाई सर्वोच्च अदालतको अवलोकन गराउँदै जेनजी आन्दोलनमा भएको क्षतिको विवरण जानकारी गराएका थिए। अवलोकनपछि भण्डारीले सर्वोच्च अदालत जलेकोमा गहिरो दुःख व्यक्त गर्दै यसलाई न्यायको प्रतीक र ऐतिहासिक धरोहरको रूपमा उल्लेख गरिन्। उनले सर्वोच्च अदालत, सिंहदरबार र संसद् भवन जस्ता महत्त्वपूर्ण संरचनाको तत्काल पुनर्निर्माणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन्। यसअघि केही साताअघि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार र संसद् भवनको पनि अवलोकन गरेकी थिइन्।














