काठमाडौँ, १५ पुष । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएका छन् ।
लामो समयदेखि विभिन्न रोगबाट ग्रसित जिया २० दिनदेखि भेन्टिलेटरमा उपचाररत थिइन् । बीएनपीले सामाजिक सञ्जालमार्फत बिहान ६ बजे उनको निधन भएको पुष्टि गरेको हो ।
चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर थियो । १९४५ मा जन्मिएकी जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । उनी सन् १९९१–१९९६ र २००१–२००६ सम्म दुई कार्यकाल सरकार प्रमुख रहिन् ।
उनले सन् १९८१ मा पति तथा तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्या पछि राजनीतिमा प्रवेश गरेकी थिइन् । खालिदा जिया चार दशकभन्दा बढी समय बंगलादेशको राजनीतिमा सक्रिय रहिन् र अवामी लिगकी नेतृ शेख हसिनासँग उनको लामो राजनीतिक प्रतिद्वन्द्विता रह्यो ।














