जनकपुर, १५ पुस । मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा सरकार गठन भएको करिब एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् पूर्ण हुन सकेको छैन ।
११ मन्त्रालयमध्ये हाल पाँच मात्र मन्त्री नियुक्त हुँदा बाँकी छ मन्त्रालय मन्त्रीविहीन छन्, जसले प्रशासनिक कामकाज र सेवा प्रवाहमा असर परेको बताइएको छ ।
छ दलको समर्थनमा बनेको सरकारले विश्वासको मत पाइसके पनि दलगत आन्तरिक छलफल, शक्ति सन्तुलन र निर्वाचन केन्द्रित गतिविधिका कारण मन्त्रिमण्डल विस्तार ढिलाइ भएको हो ।
सत्तापक्षले केही दिनमै मन्त्रिमण्डल पूर्ण हुने दाबी गरे पनि प्रतिपक्ष र विश्लेषकहरूले ढिलाइले सरकार कमजोर देखिएको र जनअपेक्षा प्रभावित हुने चेतावनी दिएका छन् ।














