काठमाडौं, १४ पुस । उपराष्ट्रपति रामसहाय यादवले शितलहरका कारण मधेशका दलित समुदाय बढी पीडामा रहेको बताएका छन् ।
राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राकृतिक विपद्मा दलित समुदाय सबैभन्दा बढी जोखिममा पर्ने गरेको उल्लेख गरे ।
उनले दलितहरू अझै शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँचको मूलधारबाहिर रहेको भन्दै आयोगले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
आर्थिक अभाव र जनचेतनाको कमीका कारण स्वास्थ्य बीमा जस्ता कार्यक्रमबाट धेरै दलित वञ्चित भएको उनको भनाइ छ ।
उपराष्ट्रपतिले दलितलक्षित सिपमूलक तथा रोजगारीमूलक कार्यक्रम विपन्न बस्तीमा सञ्चालन गर्न र कुरीति तथा भेदभाव अन्त्यका लागि आयोगले थप सक्रियता देखाउन आग्रह गरे ।














