काठमाडौं, १४ पुस । जनता समाजवादी पार्टी (जसपा) की सह–अध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन् ।
उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबीचको एकतालाई स्वीकार गर्दै आज जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रअनुसार, मिति २०८२ पुस १३ गते रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहितको जनता समाजवादी पार्टी समूह जनता समाजवादी पार्टी, नेपालसँग एकीकरण गरिएको उल्लेख छ ।
यस एकतासँगै लामो समयदेखि देखिँदै आएको दलगत विभाजन अन्त्य हुने र संगठनात्मक रूपमा पार्टी थप सुदृढ हुने नेताहरूको भनाइ छ । एकतापछि मधेस केन्द्रित राजनीतिमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ ।
विशेषगरी आगामी राजनीतिक गतिविधि तथा चुनावी रणनीतिमा यस एकीकरणले प्रभाव पार्ने अपेक्षा गरिएको छ । पार्टी नेतृत्वले एकीकृत रूपमा अघि बढ्दै संगठन विस्तार, राजनीतिक स्थायित्व र मधेसका मुद्दालाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
रेणु यादव र प्रदीप यादवको यो कदमलाई जसपा नेपालभित्रको आन्तरिक एकता सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ भने राजनीतिक वृत्तमा यसले थप चर्चा पाएको छ ।














