काठमाडौं, १३ पुोष । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको पदावधि आजबाट औपचारिक रूपमा समाप्त भएको छ ।
कार्यकाल सकिएसँगै सभामुख घिमिरेले सरकारी निवास छोड्ने तयारीसमेत थालेका छन् । घिमिरेका सञ्चार सल्लाहकार शेखर अधिकारीका अनुसार संसद् पुनस्र्थापनासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनले सार्वजनिक कार्यक्रम वा औपचारिक बिदाइ नगरी जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।
अदालतमा जवाफ दिनुपर्ने सम्भावित अवस्थालाई ध्यानमा राख्दै प्रक्रियागत जटिलता नहोस् भन्ने उद्देश्यले यस्तो कदम चालिएको अधिकारीले बताए । उनका अनुसार सभामुख घिमिरे आजदेखि कार्यालयमा उपस्थित नहुनेछन् र सरकारी निवास छोडेर निजी आवासमा सर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
बसोबासका लागि डेरा पनि पहिल्यै तय गरिसकिएको जनाइएको छ । संविधानअनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख आगामी प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहन पाउने व्यवस्था छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय भएको छ । निर्वाचन प्रयोजनका लागि आज र भोलि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइँदै छ। यही कानुनी व्यवस्थाअनुसार सभामुख र उपसभामुखको पदावधि आज मध्यरातदेखि औपचारिक रूपमा समाप्त भएको हो।














