काठमाडौँ, १० पुस । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश जस्तो अस्थिर अवस्थामा पुग्न नदिनुपर्ने स्पष्ट धारणा व्यक्त गरेकी छिन् ।
उनले राजनीतिक अस्थिरता, निरन्तर दबाब र आलोचनाका बीच पनि अन्तरिम सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको बताइन् । बिहिवार काठमाडौँमा आयोजित बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशलाई अस्थिरता र अराजकताबाट जोगाउनु वर्तमान सरकारको प्रमुख दायित्व रहेको बताइन् ।
“नेपाललाई बंगलादेश बन्न दिन हुँदैन,” भन्दै उनले अन्तरिम सरकार अचानो जस्तै बनेर सबैको दबाब सहँदै काम गरिरहेको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेन–जी समूहहरूबाट दिनदिनै सरकार छोड्नुपर्ने भन्दै गालीगलौज र आलोचना हुने गरेकोप्रति असन्तुष्टि जनाइन् ।
यस्ता आलोचनाका बाबजुद पनि सरकार धैर्यधारण गरेर मुलुकको हितमा काम गरिरहेको उनले स्पष्ट पारिन् । उनले वर्तमान परिस्थिति चुनौतीपूर्ण भए पनि संयम, सहकार्य र समझदारीबाट मात्रै देशलाई सही दिशामा लैजान सकिने बताउँदै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन् ।














