जनकपुर, २८ कात्तिक । धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन पुगेका वडाअध्यक्ष विन्देश्वर यादवमाथि गोली प्रहार भएको छ।
स्थानीय दुई पक्षबीच विवाद हुँदा स्थिति तनावपूर्ण बनेको र सम्झाउन अघि सरेका वडाअध्यक्ष यादवलाई नै गोली हानिएको प्रत्यक्षदर्शीले बताए।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।
घटनामा भएको झडपमा अन्य ७ जना घाइते भएको पनि प्रहरीले जनाएको छ, जस मध्ये एकको अवस्था गम्भीर छ।
स्थानीयको बयानका आधारमा घटनामा ३–४ जनाको संलग्नता रहेको अनुमान गरिएको छ।
प्रहरीले एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।














