काठमाडौं, २५ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले सुविधा र सन्तुलनको आधारमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म यस्ता निर्णय रोक्न आदेश गरेको हो।
मुख्यमन्त्री नियुक्तिविरुद्ध रकिप्रसाद साहलगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यो आदेश जारी गरेको हो। सरोज यादवलाई संविधानको धारा १६८(३) अनुसार गत आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकी थिइन्।
भण्डारीले सोमबार बिहान बर्दिबासस्थित पानस होटलमा यादवलाई शपथ गराएकी थिइन्, तर यस प्रक्रियालाई विवादास्पद मानिएको छ। उनलाई मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरे। नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले शपथ ग्रहण गरिसकेका छन्।














