जनकपुर, २५ कात्तिक। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्ति विवादमा सर्वोच्च अदालतले असंवैधानिक ठहर गरे तत्काल राजीनामा दिने घोषणा गरेका छन्।
मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको आदेश सर्वोपरि हुने बताउँदै “एकछिन पनि पदमा नबस्ने” स्पष्ट बताएका हुन्।
यादवले एमाले संविधान र कानूनको पालना गर्ने पार्टी भएकाले आफू पनि सोही संस्कार अनुसार अघि बढ्ने उल्लेख गरे।
उनले मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले विश्वासको मत दिने अपेक्षा व्यक्त गर्दै, विगतमा एमालेले जसपा नेपाल र जनमत पार्टीलाई सहयोग गरेको कारण अहिले ती दलहरूले पनि समर्थन गर्ने विश्वास प्रकट गरे।
यसैबीच, यादवले हाल आफूलाई एमाले सांसदहरूको मात्र समर्थन रहेको स्पष्ट गर्दै अन्य दलहरूसँग छलफल जारी रहेको बताए। उनले संवादपछि सकारात्मक परिणाम आउने दाबी गरेका छन् ।















