काठमाडौं, ५ कात्तिक । दशैं र तिहारको चापसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्क्ष्ब्) मा यात्रु संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
अक्टोबर २०२५ (असोज–कात्तिक) को अवधिमा विमानस्थलबाट ७ लाख ६१ हजार ४१४ यात्रुहरूले आवतजावत गरेका छन् । आन्तरिक उडानतर्फ ३ लाख २३ हजार १२ यात्रुले सेवा लिएका छन् । यसमध्ये २ लाख ४ हजार ५८८ यात्रु काठमाडौंबाट प्रस्थान गरेका थिए भने १ लाख १८ हजार ४२४ यात्रु काठमाडौं भित्रिएका थिए ।
आन्तरिक उडानको हिसाबले काठमाडौंबाट ४ हजार २०९ उडान प्रस्थान गरेका छन् भने ४ हजार २०८ अवतरण भएका छन् । कुल मिलाएर ८ हजार ४१७ आन्तरिक उडान र अवतरण भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रतर्फ, अक्टोबर महिनामा १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश गएका छन् भने २ लाख ४० हजार ३९४ यात्रु नेपाल भित्रिएका छन् ।
दुईतर्फी यात्रुको कुल संख्या ४ लाख ३८ हजार ४०६ पुगेको छ । त्यसैगरी, २ हजार १३६ यात्रुहरूले काठमाडौंमा ट्रान्जिट सेवा उपयोग गरेका छन् । यो अवधिमा अन्तर्राष्ट्रिय उडानका हिसाबले १ हजार ५८५ जहाज प्रस्थान गरेका थिए भने उति नै जहाज अवतरण भएका छन्।
यसरी अन्तर्राष्ट्रिय उडान र अवतरण गरी जम्मा ३ हजार १७० उडान गतिविधि भएका छन् । हाल त्रिभुवन विमानस्थलमा ३१ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले सेवा दिइरहेका छन्। विमानस्थल प्रशासनका अनुसार अक्टोबर महिनामा यात्रुको चाप अत्यधिक हुने भएकाले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा थियो।














