धनुषा, ८ कात्तिक । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा चार वर्षीय छोरा घाइते भएका छन्।
गणेशमान चारनाथ नगरपालिका–४ भरतपुरका करिब ३५ वर्षीय उमेश यादवले शनिबार राति ससुरालीमा गएर आफ्नी ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक जानकारी छ।
आइतबार बिहान करिब १ः५० बजे घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा शव फेला परेको थियो।
घटनामा घाइते भएका बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको छ। स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कु बरामद गरेको छ। घटनापछि फरार रहेका उमेशको खोजी गर्ने क्रममा घटनास्थलभन्दा करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै घटनास्थलको मुचुल्का तयार गर्ने प्रक्रिया अघि बढाएको छ। रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














