जनकपुर, ५ कात्तिक । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्कामा बुधबार बिहान चलिरहेको एक यात्रुवाहक बसमा भीषण आगलागी भएका छन् ।
बस पूर्णरूपमा जलेर नष्ट हुँदा कारिव ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले बताए । बागमती प्रदेशको २–०३–००१ ख ५५५५ नम्बरको उक्त बस काठमाडौंबाट चन्द्रपुरतर्फ गइरहेको थियो ।
बिहान करिब ७ः२० बजेको समयमा, बसको ब्याट्रीको तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, बसको ब्रेक जाम भएपछि तार सर्ट भएको र त्यसकै कारण गाडी अचानक रोकेको बताइएको छ ।
सवारी रोकिएलगत्तै चालकले यात्रुहरूलाई तुरुन्त बाहिर निकाल्दा कुनै मानवीय क्षति भने हुन पाएन । आगलागीको जानकारीसँगै प्रहरी टोली तुरुन्तै दमकलको टोली सँग आगो नियन्त्रणमा ल्याएको थियो ।
आगो करिब ८ः१५ बजे पूर्णरूपमा निभाइएको डिएसपी लाबुङले जनाएको छ । घटनाको कारणले गर्दा केही समयको लागि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।














