रौतहट, ५ कार्तिक । रौतहटमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक आज बिहान सवा सात बजेतिर बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा अचानक आगलागी भएको हो ।
काठमाडौँबाट तिहारका यात्रु लिएर चन्द्रपुरतिर आउँदै गरेको बसमा ब्याट्रीको तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए ।
आगलागीको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा प्रहरी खटिएको थियो ।
स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको कार्कीले बताए ।














