काठमाडौं, २८ असोज । चालु आर्थिक वर्षको दुई महिनामा ३ खर्ब ५२ अर्ब ८ करोड बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२÷८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धिभएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौमहिनाको विप्रेषण आप्रवाह रु. १७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.३८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२८७ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९०,१९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५,८८४ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६,४८५ र ४०,५८३ रहेको थियो ।














