काठमाडौं, २० भदौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालको आम निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबार सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले निर्वाचनमा धाँधली हुन नदिने स्पष्ट संदेश दिएका हुन् ।
ओलीले भने, “०८४ मा हामीले कम्तीमा एकल बहुमत ल्याउनैपर्छ । यदि हामी जनतामाझ सक्रियतापूर्वक पुग्यौं, सदस्य र समर्थकलाई संगठित गर्यौं भने, हाम्रो बहुमत रोक्ने शक्ति कसैसँग छैन ।”
उनले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने प्रतिवद्धता पनि दोहोर्याए । प्रधानमन्त्री ओलीका अनुसार सरकारमै रहँदै निर्वाचन गरिने भएकाले धाँधली हुने सम्भावना नै रहँदैन ।
“हामी सरकारमा छौं, त्यसैले कसैले धाँधली गर्न सक्दैन । निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुनेछ,” ओलीले भने ।
त्यस अवसरमा उनले नेता–कार्यकर्तालाई परिस्थिति बुझेर जनतामाझ जाने र आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिए ।














