अर्घाखाँची, १७ भदौ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–४ मा एक दर्दनाक घटना सार्वजनिक भएको छ ।
किरण गुरुङले आफ्नै पत्नी सुमित्रा कुमाल गुरुङको हत्या गरी घरको भान्सामा गाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार, हत्या गरिएको चार दिनपछि मात्रै घटनाको खुलासा भएको हो।
१६ भदौ राति प्रहरीले किरण गुरुङको घरमा खाल्डो खनेर गाडिएको अवस्थामा सुमित्राको शव फेला पारेको हो। त्यसपछि शवलाई उत्खनन् गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।
मादक पदार्थको सेवनपछि विवाद
प्रारम्भिक अनुसन्धानमा किरणले मादक पदार्थ सेवन गरेका बेला श्रीमतीसँग भनाभन भएको र त्यसकै क्रममा उनले बाँसको लठ्ठी र हंसियाले प्रहार गरी सुमित्राको हत्या गरेको खुलेको छ। हत्या पश्चात उनले शवलाई कम्बलमा बेरेर घरको भान्छामा खाल्डो खनी गाडेको प्रहरी स्रोतले जनाएको छ ।
चार दिनसम्म चुपचाप
हत्यापछि किरणले कसैलाई पनि जानकारी नदिई चार दिनसम्म घरमै शव राखेको र त्यसबारे शंका भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले घर खानतलासी गर्दा भान्साको माटो नयाँ देखिएपछि खनेर हेर्दा शव भेटिएको थियो ।
किरण पक्राउ, थप अनुसन्धान जारी
श्रीमान् किरण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना पारिवारिक विवाद तथा मादक पदार्थको दुव्र्यसनसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।














