जनकपुर, १६ भदौ। जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस) मा भएको एक घटनाले फेरि पनि पुष्टि गरेको छ कि जातीय भेदभाव केवल अशिक्षित वा ग्रामीण समाजमा मात्र सीमित छैन।
यस पटक भेदभावको आरोप सीधै क्याम्पस प्रमुखमाथि लागेको छ।
क्याम्पस प्रमुख बसन्त कुमार कर्णविरुद्ध कार्यालय सहयोगी राम बिहारी खत्वेले जातीय छुवाछुत र अपमानजनक व्यवहार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएका छन्।
खत्वेले २४ वर्षदेखि सो क्याम्पसमा कार्यालय सहयोगीको रूपमा काम गर्दै आएका छन्। उनले उजुरीमा उल्लेख गरेअनुसार, प्रमुख कर्णले दलित भएको आधारमा आफूलाई अपमान गर्ने, कोठा–कोठामा प्रवेश गर्न नदिने, कर्मचारीहरूसँग एउटै स्थानमा बस्न रोक लगाउने जस्ता व्यवहार गर्दै आएका छन्।
उनका भनाइ अनुसार, प्रमुख कर्णले पटक–पटक “तिमी छुट्टै बस, दलितसँग सँगै बस्न मिल्दैन” भनी अपमान गरेका थिए। भदौ ५ गते त झन् “तिमी दलित भएकाले कोठा छुइने भयो” भन्दै सार्वजनिक रूपमा अपमान गरेको उनी बताउँछन्।
त्यसमात्र होइन, कार्यालय समयमा पानी पिउन खोज्दा समेत रोक लगाइएपछि उनले दिनभर पानी नै नपिएको दुःखेसो उजुरीमार्फत गरेका छन्।
खत्वेले मुलुकी अपराध संहिता, २०७४ को दफा १६० र १७६ बमोजिम जातीय भेदभाव र छुवाछुत अपराधअन्तर्गत कडा कारबाही गर्न माग गरेका छन्।
साथै, अपमानजनक व्यवहारका कारण भएको मानसिक पीडाको क्षतिपूर्ति समेत माग गरेका छन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले भने, “क्याम्पस प्रमुख कर्णलाई बोलाई बुझ्ने प्रक्रिया भइरहेको छ।
घटनाको सत्यतथ्य छानबिनपछि कानूनी प्रक्रिया अनुसार आवश्यक कारबाही गरिनेछ।”Abl














