जनकपुर, १५ भदौ । जनकपुरमा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर एकजना घाइते भएको छ ।
घाइते हुनेमा देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन् । उनको दुवै घुँडामा गोली लागेको छ । घुँडामा गोली लागेका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
साथै झडपमा ७ जना प्रहरी र सर्वसाधारण समेत घाइते भएका छन् । घाइते सातजना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठामा शनिवार झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा लगाएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो ।
डीएसपी सिंहका अनुसार आज दुवै पक्षका भलादमी प्रहरी प्रशासनबीच सो चोकमा रहेको दुवै समुदायको झण्डा हटाउने सहमति भएको थियो । सो क्रममा प्रहरीले गोली र अश्रुत ग्यास समेत प्रहार गरेका छन् ।














