काठमाडौं, १५ भदौ । रुपन्देही–३ को आगामी उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका छन् ।
सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई केही समयअघि मात्र भैरहवा कारागारबाट नख्खु सारिएको हो । उम्मेदवार घोषणा हुनु पूर्व नै आकांक्षीहरूले उनलाई भेटेर आफ्नो धारणा राखेको हो । पार्टीले आजै सचिवालय बैठकमार्फत उम्मेदवार चयन गर्ने तयारी गरेको छ ।
बैठक सकिएलगत्तै आधिकारिक घोषणा गर्ने योजना रहेको रास्वापाले बताएको छ । रुपन्देही–३ बाट उम्मेदवार बन्न ९ जना आकांक्षीको नाम सार्वजनिक भएको छ । पार्टीले ७ देखि २१ साउनसम्म आवेदन आह्वान गर्दा तीमध्ये ९ जना छनोट भएका हुन् ।
आकांक्षीहरूको सूचीमा केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् ।
यीमध्ये ५ जना भैरहवा क्षेत्रका हुन् भने अन्य बुटवल तथा आसपासका क्षेत्रका हुन् । रुपन्देही–३ का प्रतिनिधि सभा सांसद राप्रपाका दीपक बोहराको निधनपछि रिक्त भएको पदमा निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन तोकेको हो ।














