जनकपुर, १४ भदौ। धनुषाको मिथिला बिहारी नगरपालिका–१० ठेरास्थित सोनु पसलमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेका छन्।
पसलका सञ्चालक जीत नारायण शाहका अनुसार राति करिब १२ बजे अचानक अज्ञात व्यक्तिहरू आएर पसलमा आगो लगाइएको हो।
सञ्चालक शाहले घटनाबारे जानकारी दिँदै भने, “राति अबेर आगो लगाइएको रहेछ। मलाई करिब ४ बजे यसबारे खबर भएको थियो ।” घटनापछि पसलमा ठूलो क्षति भएको बताइएको छ।
स्थानीयवासीहरूले समयमै आगो नियन्त्रणमा लिने प्रयास गरे पनि पसलमा रहेका सामानहरू जलेर नष्ट भएका छन्। घटनाको कारण र आगजनी गर्ने समूहको पहिचान अहिलेसम्म खुलेको छैन।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
स्थानीयवासीले घटनाको छिटो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।














