काठमाडौं, १३ भदौ । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवका अनुसार शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको बताए ।
वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो ।
वार्तामा आफुहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताए । कृषि मन्त्रालयको बार्षिक बजेटमा नै २ अर्व रुपैया उखु किसान अनुदान दिने भनेर छुट्टाउदा अर्थ मन्त्रालयले बजेट रोकेको उनले आरोप लगाए ।
प्रवक्ता यादवले शनिबार ११ बजे माइतिघरमा पत्रकार सम्मेलन गरि आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने उल्लेख गरे ।














