जनकपुर, १३ भदौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जनकपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।
बैठकमा पार्टीको संगठन विस्तार, आगामी रणनीति र वैकल्पिक राजनीतिक धाराको प्रवद्र्धनबारे महत्त्वपूर्ण निर्णयहरू लिइएको छ । बैठक जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा धनुषा जिल्ला प्रभारी डा. राजीव झाको विशेष उपस्थिति रहेको थियो ।
बैठकमा केन्द्रीय सचिव संजय चौधरी, अनुशासन समितिका अध्यक्ष संजय सिंह, प्रवक्ता रमण पाण्डे, विजय यादव, राम जीवन साह, विजय राय, सरगुन पासमान, शिवशंकर राउत लगायतका नेताहरूको उपस्थिति थियो ।
संगठन विस्तार र नयाँ मनोनयन
बैठकले हालसम्मको जिल्ला कार्यसमितिलाई ५१ सदस्यीय बनाउँदै विस्तार गर्ने निर्णय गरेको छ। साथै, युवा संगठन सुदृढ पार्ने उद्देश्यले ८८किशन साहलाई जिल्ला युवा संयोजकमा मनोनयन गरिएको छ ।
जिल्ला स्तरमा रिक्त रहेका पदहरू एक साताभित्र केन्द्रका प्रतिनिधिहरूसँग सल्लाह गरी मनोनयन गर्ने जिम्मेवारी जिल्ला अध्यक्ष चौधरीलाई दिइएको छ ।
वैकल्पिक विचारधारामा जोड
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष डा. राजीव झाले पार्टीले प्रवद्र्धन गरिरहेको ‘स्वदेशवाद’लाई नेपालको वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आयातित विचारधाराहरू—जस्तै माओवादी, माक्र्सवादी, लेनिनवादी—ले नेपाललाई आत्मनिर्भर बनाउन नसकेको भन्दै स्वदेशी अवधारणा मात्रै देशको दिगो समृद्धिको आधार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो।
समावेशिता र एकताको सन्देश
प्रवक्ता रमण पाण्डेले मधेसी, आदिवासी, जनजाति, दलित र सबै समुदायबीच एकता आवश्यक रहेको उल्लेख गर्दै हिन्दी भाषालाई नेपाली भाषाजस्तै मान्यता दिनुपर्ने माग समेत गर्नुभयो ।
जिल्ला अध्यक्ष राजेश चौधरीले पार्टीलाई वैकल्पिक शक्ति बनाउने प्रतिबद्धता जनाउँदै सबै समुदायको समावेशी प्रतिनिधित्व गराउने आश्वासन दिनुभयो ।
अनुशासन समितिका अध्यक्ष संजय सिंहले संगठनको सफलताका लागि अनुशासन अनिवार्य रहेको भन्दै मधेस आन्दोलनका सहिदप्रति श्रद्धा व्यक्त गर्नुपर्ने बताए ।
केन्द्रीय सचिव संजय चौधरीले नेपालको राज्यसत्तामा अझैपनि एकल जातीय चरित्र हावी रहेको भन्दै मधेसी, जनजाति र खसआर्य सबैको समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
एकता र अभियानको तयारी
बैठकको स्वागत मन्तव्य जिल्ला समन्वय समितिका पूर्व उपसभापति दीपक झाले दिनुभएको थियो । अन्त्यमा बैठकले जिल्लाभर संगठन सशक्त बनाउँदै आगामी राजनीतिक अभियानलाई प्रभावकारी बनाउन पार्टीभित्र व्यापक एकता र सुदृढ संरचना निर्माण गर्ने निर्णय गरेको छ ।














