जनकपुर, १३ भदौ । जनकपुरमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल धनुषा जिल्ला कार्यसमितिको विस्तारित बैठक आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।
पार्टीका जिल्ला अध्यक्ष राजेश चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ता, सल्लाहकार तथा पर्यवेक्षकहरूको उपस्थिति रहेको छ ।
पार्टीका नेता राजिव झाका अनुसार, बैठक जनकपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको हो । बैठकको उद्देश्य संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति निर्माण, स्थानीय तहमा पार्टीको उपस्थिति सशक्त बनाउने योजना तथा आसन्न निर्वाचनसम्बन्धी तयारीबारे गहिरो छलफल गर्नु रहेको बताइएको छ ।
बैठकमा पार्टीका प्रदेशस्तरीय नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको र यसले जिल्ला स्तरमा पार्टीको संगठनात्मक रूपलाई थप मजबुत पार्ने अपेक्षा गरिएको छ ।














