जनकपुर, १२ भदौ । मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज)लाई थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।
बलात्कार आरोपमा पक्राउ परेका अहिराजको तर्फबाट पेश गरिएको धरौटीमा रिहा हुन माग गरिएको पुनरावेदनलाई अदालतले खारेज गर्दै जिल्ला अदालतको आदेश यथावत् राखेको हो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको निर्णय सदर गरेको हो ।
जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पूर्वप्रदेश प्रमुख अहिराजमाथि २०८१ साल जेठ ४ गते एक महिलाले काठमाडौँको आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले उनलाई साउन ४ गते पक्राउ गरेको थियो ।
प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि साउन १४ गते जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध अहिराजले पुनरावेदन दायर गर्दै उच्च अदालत पाटन पुगेका थिए ।
तर, अदालतले उक्त पुनरावेदन खारेज गर्दै जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । हाल अहिराज काठमाडौँको डिल्लीबजार कारागारमा थुनामा छन् ।
अहिराज मधेस प्रदेश सरकार गठनको सुरुआती चरणमा प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । उनी सामाजिक र राजनीतिक रूपमा समेत चिनिएका व्यक्ति भए पनि बलात्कारजस्तो गम्भीर आरोपमा मुछिएपछि उनको छवि र राजनीतिक भविष्यमा प्रश्न उठ्न थालेको छ ।














