काठमाडौं,१२ भदौ । रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारदेखि प्राइमरी इलेक्सन सुरु गरेका छन् ।
यसमार्फत ९ आकांक्षीमध्येबाट एक जनालाई उम्मेदवारका रूपमा छानिनेछ । पार्टीको एप प्रयोग गरेर मोबाइलबाटै अनलाइन भोट हाल्न सकिने व्यवस्था गरिएको छ । विहिवार बिहान ७ बजे खुलेको मतदान भोलि शुक्रबार साँझ ७ बजेसम्म चल्ने लुम्बिनी प्रदेश इञ्चार्ज एवं सहमहामन्त्री विपिनकुमार आचार्यले बताए ।
प्राइमरी इलेक्सनमा पाउने अंक भार ५० सम्म हुने भएकाले यसलाई सबै आकांक्षीले अत्यन्तै महत्वका साथ लिएको छन् । धेरै अन्तरले अग्रता लिने आकांक्षी नै अन्तिम उम्मेदवार बन्ने सम्भावना उच्च हुने बताइएको छ ।
रुपन्देही–३ मा करिब २ हजार ८०० पार्टी सदस्य रहेका क्षेत्रीय सभापति मधु अर्यालले जनाएको छ । यसअघि पार्टीले ७ देखि २१ साउनसम्म आवेदन खुला गरेकोमा ९ जना आकांक्षी चयन भएका थिए ।
तिनमा केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम अग्रवाल रहेका छन् ।
कुसुम, मधु, सुलभ र जीतबहादुरबाहेक बाँकी पाँच जना भैरहवाका हुन् । यसअघि पोलिटिकल प्रोक्सिमिटी (२० अंक) र लिडरसिप एकेडेमी (२५ अंक) अन्तर्गत आकांक्षीहरूको मूल्याङ्कन भइसकेको छ ।\
१०० अंकको संरचनामा बाँकी ५ अंक समावेशिताका लागि छुट्याइएको छ, जसमा महिला, मधेशी, आदिवासी जनजाति, अल्पसंख्यक र पछाडि पारिएका समुदायका आकांक्षी मात्र पात्र हुने व्यवस्था गरिएको छ ।














