काठमाडौं, २१ साउन । आज बुधवार भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ ।
समूह ए मा रहेको नेपाल र भुटानबीच खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुदैछ । नेपाल र भुटान दुवै सुखद सुरुवातको लक्ष्यमा छ । केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको नेपालको मनोबल उच्च रहेको छ ।
भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हो । मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू२० र एएफसी यू–२० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको जनाए । साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताएको छ ।
साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुवै खेलमा सहजै पराजित गरेको थियो । साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ६–१ र ८–० ले पराजित गरेको थियो । यसैगरी गुरुङले समूहको तीनवटै टिमलाई सम्मान गरेर खेल्ने बताए ।
यस्तै भुटानकी प्रशिक्षक टंक माया घलेले पनि छनोट प्रतियोगिताका लागि तयार रहेको बताइन् ।














