चितवन, १७ साउन । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेंगुको संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको संक्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् ।
जिल्लाको भरतपुर महानगरपालिकाका– सात जना, खैरहनी नगरपालिकाका तीन जना, रत्ननगर नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । पाँच जना पुरुष र नौ जना महिलामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन् ।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।
यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिएका छन ।














