काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका आठ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जनाले दायर गरेको रिटमा सात बुँदामा आदेश माग गरिएको छ ।
रिटअनुसार प्रधानमन्त्री कार्की प्रतिनिधिसभा सदस्य नभएको र कुनै दलको समर्थन नपाएको कारण उनको नियुक्ति संविधानको धारा ७६ र १३२(२) विपरीत भएको दाबी गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयमार्फत गरिएको नियुक्ति, शपथग्रहण तथा मन्त्रीपरिषद् विस्तारसमेत बदर गर्न माग गरिएको छ ।
सांसदहरूले प्रधानमन्त्रीको एकल सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटन पनि गैरकानूनी भएको बताउँदै विघटनअघिको अवस्था कायम गर्न परमादेश मागेका छन्।
साथै नयाँ सरकार गठनका लागि धारा ७६ बमोजिमको प्रक्रिया सुरु गर्न राष्ट्रपति, संसद् बैठक बोलाउन सभामुख, र चुनाव तयारीका सबै काम रोक्न निर्वाचन आयोगलाई आदेश दिन अदालतसँग माग गरिएको छ ।














