जनकपुर, २० असार । धनुषा जिल्लाको शहीदनगर नगरपालिका–५, बासुदेवपट्टीमा स्थानीय दुई व्यक्तिबीचको जग्गा सम्बन्धी विवाद तनावपूर्ण बन्दै गएको छ ।
स्थानीय राम सागर दासको घर पछाडि छिमेकी रामवृक्ष ठाकुरले अनावश्यक रूपमा ठुलो नाला खनेको देखिएको छ, जसले विवादलाई चर्काएको छ ।
तस्वीरहरूमा प्रष्ट देखिन्छ कि ठाकुरले दासको घरको अत्यन्त नजिक ठुलो नाला खनेका छन्, जुन नालाको कुनै प्राविधिक आवश्यकता वा उपयोग देखिदैन ।
पीडित राम सागर दासका अनुसार, ठाकुरको यस्तो कदम उनीप्रति दुश्मनीको भावना र उनको घर भत्काउने नियतबाट प्रेरित देखिन्छ । “मैले आफ्नै जग्गामा घर बनाएको हुँ, जसमा मेरो बसोबास र सानो व्यापार संचालन हुन्छ,“ दासले भने, “तर ठाकुरले जानाजान मेरो घर कमजोर बनाउने उद्देश्यले यस्तो नाला खनेका छन् ।“ एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा भने, “रामवृक्ष ठाकुरले अमानवीय व्यवहार गरिरहेका छन् । यस्तो कदमले समाजमा गलत सन्देश जान्छ ।“
हालसम्म सम्बन्धित निकाय वा नगरपालिकाबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । स्थानीय बासिन्दाहरूले प्रशासनलाई तत्काल हस्तक्षेप गरी विवाद समाधान गर्न माग गरेका छन् ।














