जनकपुर, १९ असार । दैनिक हजारौं मानिसहरूको भीडभाड हुने जनकपुरधामको सोनार महल्ला अहिले सुनसान देखिएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनचाँदी तथा हिरा–जवाहरातमा २ देखि १३ प्रतिशतसम्म कर लगाउने निर्णय गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। सोही निर्णयको विरोधस्वरूप जनकपुरधामका सबै सुनचाँदी पसलमा ताला लगाइएको छ ।
बन्दको मार विवाह सिजनमा
विवाह तथा शुभकार्यको मुख्य सिजनमा परेको यस आन्दोलनले जनकपुरका उपभोक्ताहरूलाई ठूलो असर परेको छ । सुनचाँदी खरिद गर्न नसकेका उपभोक्ताहरू भारतको सीमावर्ती बजारतर्फ जान बाध्य भएका छन् । यसले नेपाली बजारमा आर्थिक घाटा मात्र होइन, व्यवसायीको अस्तित्वसमेत संकटमा पार्ने देखिएको छ ।
‘विलासिताको वस्तु’ भनेर कर लगाउनु गलत – व्यवसायी
जनकपुरका सुनचाँदी व्यवसायी रक्की ठाकुर भन्छन्, “सरकारले सुनचाँदीलाई विलासिताको वस्तु भन्दै कर बढाएको छ, तर वास्तवमा यो नेपाली समाजसँग गहिरो रूपमा जोडिएको आवश्यक वस्तु हो ।” ठाकुरका अनुसार कर सिधा २ प्रतिशत मात्र भए पनि अप्रत्यक्ष रूपमा उपभोक्ताहरूले ६ प्रतिशतसम्म कर तिर्नुपर्ने अवस्था आउँछ । यसले नेपाली बजारलाई भारतभन्दा १५–२० हजार रुपैयाँसम्म महँगो बनाउँछ, जसले ग्राहकहरूलाई वैकल्पिक बजारतर्फ धकेल्नेछ, ठाकुरले ।
घरेलु समस्यामा मध्यम वर्गीय परिवार
पसलहरू बन्द हुँदा विवाह, उपचार, शैक्षिक तथा आकस्मिक खर्चका लागि सुन बेचेर रकम जुटाउने मध्यम वर्गीय परिवारहरू समस्यामा परेका छन् । बैंकले कर्जा नदिने वर्तमान अवस्थामा सुनचाँदी महत्वपूर्ण सम्पत्ति मानिन्छ ।
तस्करी बढ्ने चिन्ता
व्यवसायीहरू भन्छन्, अत्यधिक करले कानुनी व्यापार बन्द गराउँछ भने अवैध तस्करीलाई मलजल गर्छ। “सरकार आफैंले तस्करी गर्न बाध्य बनाउने वातावरण बनाउँदैछ,” ठाकुरले गुनासो गरे ।
आन्दोलन सशक्त बनाउने चेतावनी
व्यवसायीहरूले सरकारले कर खारेज नगरे आन्दोलनलाई अझ सशक्त बनाइने बताएका छन् । उनीहरूले सरकारसँग माग गरेका छन् कि सुनचाँदीलाई पूजासँग जोडिएको आवश्यक वस्तुको रूपमा मान्यता दिइयोस् र बजेटमार्फत गरिएको कर निर्णय तुरुन्त फिर्ता लिइयोस् । व्यवसायीहरूले असार १३ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन्, र यदि माग सुनुवाइ भएन भने संघीय तहसम्म संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।

















