कुलदिप प्रेम ।
जनकपुर । जनकपुर मिथिला सभ्यताको गहना, ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण शहर हो ।
नाम मात्रै “५२ कुट्टी ७२ कुण्ड” भन्ने गरिन्छ, जहाँ प्रत्येक कुण्ड र कुटीले पृथक कथा बोकेको छ । तर आज ती गौरवशाली चिन्हहरू फोहर र बेवास्ताले ढाकिएका छन् ।
सौन्दर्यकरणका नाममा करोडौं खर्च भए पनि स्थिति उस्तै रहेको छ — झन् बिग्रिँदै गएको अवस्था छ । जनकपुरका अधिकांश कुण्डहरू अहिले फोहोर पानी, प्लास्टिकजन्य फोहर र गन्धले भरिएका छन् ।
धार्मिक र सांस्कृतिक दृष्टिले यस्ता कुण्डहरू पवित्र स्थल हुन्, जहाँ स्नान गरी आत्मशुद्धिको कामना गरिन्छ । तर आज ती कुण्ड न कुनै आस्थाको प्रतीक बनेका छन्, न त सौन्दर्यको । स्थानीय सरकार र प्रदेश सरकार दुवैले वर्षौंदेखि बजेट खर्च गर्दै आए पनि, ती योजनाहरू कागजमै सीमित देखिन्छन् ।
जनताको आक्रोश बुझ्न सकिन्छ । एक स्थानीय बासिन्दाको भनाइ अनुसार, “जनकपुर घर हो भन्न पनि लाज लाग्छ,“ भन्ने अवस्था अत्यन्तै दुःखद छ । यो केवल व्यक्तिगत भावनाको अभिव्यक्ति होइन, जनकपुरप्रेमी सबै नागरिकहरूको साझा चिन्ता हो । जनकपुरको मुटु मानिने जानकी मन्दिर पनि स्वच्छताको दृष्टिले चिन्ताजनक स्थितिमा पुगेको छ ।
पान, सुपारी, गुटखा खाएर सार्वजनिक स्थानमा थुक्ने प्रवृत्तिले मन्दिर परिसरमै अपमानजनक दृश्य सिर्जना गरेको छ । तीर्थस्थललाई सम्मान गर्नुको सट्टा हामी आफैंले अशोभनीय बनाइरहेका छौं ।
जनकपुरलाई ‘धाम’को हैसियत दिलाउन सरकारको मात्रै होइन, आम नागरिकको पनि उत्तरदायित्व हो । योजनाको पारदर्शिता, प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि र ऐतिहासिक सम्पदाप्रतिको समर्पण आवश्यक छ ।
धार्मिक पर्यटन प्रवद्र्धनको कुरा गर्नु अघि हाम्रो घर आँगन सफा र व्यवस्थित बनाउनु जरुरी छ । जनकपुरको पुनर्जीवन सम्भव छ — इच्छाशक्ति र इमान्दार प्रयास भए । हैन भने, “५२ कुट्टी ७२ कुण्ड” को त्यो गौरवशाली नाम केवल सम्झनामा सीमित हुनेछ ।












