काठमाडौं, ११ असार । प्रतिनिधिसभाको बठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १३ पास गर्न तयारी गरिएका छन् ।
जसका लागि भोलि समितिको बैठक बोलाइएको रहेको छ । बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको छ ।
उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जानकारी दियो । केही विषयमा टुंगो लाग्न बाँकी छ । बिहीबार बिहान ८ बजे समन्वय उपसमितिको बैठक बोलाइएको हो ।
शिक्षा समितिका अनुसार, उपसमितिले मिल्न बाँकी विषय मिलाएर दिउँसो १ बजे समितिको बैठकमा लैजाने तयारी रहेको छ । समिति सदस्यहरूको एक मत भएमा अब छलफल धेरै विषय बाँकी छैनन् ।
अब समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले छलफल गरेर पास गर्छ ।
त्यसपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय प्रकिया पूरा गरेर अगाडि बढ्छ ।
राष्ट्रिय सभाबाट पास भएपछि पुनः प्रतिनिधिसभामा आउँछ ।
राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रुपान्तरित हुन्छ ।
निजी विद्यालयको व्यवस्थापन र सञ्चालन, ईसीडी र शिक्षकका माग मुद्दा बढी पेचिलो बनेको थियो ।
गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थिए । ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेका थिए ।














