जनकपुरधाम, १० असार । धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२–८३ का लागि जम्मा ५० करोड ५१ लाख ५२५ रुपियाँको बजेट प्रस्तुत भएको छ ।
विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको अध्यक्षतामा भएको सो नगरपालिको १० औं नगरसभाको उद्घाटनसत्रमा नगर उपप्रमुख आशादेवी झाले अगामी आर्थिक वर्ष २०८२–८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी छिन् ।
प्रस्तुत बजेटमध्ये चालुतर्फ ३४ करोड ८४ लाख ८४ हजार ५२५ रुपियाँ र पुँजीगत तर्फ १५ करोड ६६ लाख १६ हजार रुपियाँ रहेको छ ।
नगरपालिकाले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको स्रोत मध्ये आन्तरिक राजस्वबाट ४ करोड ५ लाख, राजस्व बाँडफाँटबाट १० करोड ९४ लाख १९ हजार ५२५ र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३५ करोड ५१ लाख ८१ हजार रहेको छ ।
धनुषाको विदेह नगरपालिका १० औँ नगरसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम नेकपा (एमाले) का प्रदेशसभा सदस्य लखन दासले स्थानीय सरकारले किसानहरूको सहजताका लागि खरिद केन्द्रको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेशसभा सदस्य दासले दलित, अल्पसङ्ख्यक र पिछडा समुदायका बालबालिका अझै पनि विद्यालय बाहिर रहेको चर्चा गर्दै तिनीहरूलाई विद्यालयमा टिकाइ राख्न प्रोत्साहन भत्ताको व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।















