काठमाडौँ , १० असार । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन भएपनि त्यसप्रति असन्तुष्टि जनाउँदै दुई दलले मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।
रास्वपा र राप्रपाले अहिले बनेको उच्चस्तरीय छानबिन समितिले लक्ष्यअनुरुप नतिजा दिन नसक्ने भन्दै सदनमा आफ्नो कुरा राखेर सदन बहिस्कार गरेका हुन् । समितिको नेतृत्वमाथि नै दुई दलले अविश्वास प्रकट गरेको छ ।
पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिमा अर्थ मन्त्रालयका सहसचिव तिर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा गराएको जानकारी अनुसार समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ ।















