काठमाडौं, ९ असार । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह बनेको महसुस भइसकेको बताएका छन् ।
आज सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता भइसकेको बताएका छन ।
ऊर्जा केवल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउँदै उनले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाएर ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको जिकिर गरे ।














