काठमाडौं, ८ असार । अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको विधानमा महत्वपूर्ण संशोधन गरेको छ।
काठमाडौँमा सम्पन्न दुईदिने सङ्घीय परिषद् बैठकले विधान संशोधनसँगै पार्टीको सांगठानिक संरचना पनि विस्तार गरेको हो । पार्टी महासचिव इस्तियाक राईका अनुसार, २०८१ सालको वैशाख २४ गते उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर गठन भएको नयाँ जसपाले गठनको बेला हतारमा बनाइएको प्रारम्भिक विधानलाई अहिले आएर समयानुकूल संशोधन गरेको हो ।
संरचनामा उल्लेखनीय वृद्धि
पार्टीले आफ्नो कार्यसमितिको सदस्य संख्या १५१ बाट एक सय थपेर २५१ पु¥याएको छ । त्यस्तै, संघीय परिषद् सदस्य संख्या ४१३ बाट बढाएर ७०१ पु¥याइएको छ । प्रदेश समिति ५१ सदस्यीयबाट ६७ सदस्यीय बनाइएको छ भने राष्ट्रिय समिति पनि ३९ सदस्यीयबाट ४५ सदस्यीयमा विस्तार गरिएको छ ।
विधानको महत्वपूर्ण धाराहरू संशोधन
संशोधित विधानमा अनुसूची ४ को धारा ८ मा समेत संशोधन गरिएको छ । यसबाहेक, पार्टीले आफ्नो लोगो र चुनाव चिन्हमा एकरूपता ल्याउने निर्णय गरेको छ । अब पार्टीको आधिकारिक लोगोमा रहेको ‘अङ्कित मुठी’ चिन्हलाई चुनाव चिन्हसँग मिल्दोजुल्दो बनाइनेछ ।
महासचिव राईका अनुसार, यस निर्णयबाट पार्टीको परिचय एकरूप बनाइनेछ र भ्रमको अन्त्य हुनेछ ।
प्रमाणीकरण समिति गठन
संशोधित विधानलाई अनुमोदनका लागि पाँच सदस्यीय प्रमाणीकरण समिति गठन गरिएको छ । उक्त समितिमा सङ्घीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, कार्यदल संयोजकलगायत रहेका छन्। समितिले २१ दिनभित्र संशोधित विधानलाई प्रमाणीकरण गर्नेछ ।














