जनकपुर, १८ चैत । नेपाल पत्रकार महासंघ धनुषाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारलाई सात दिने अल्टिमेटम दिएका छन् ।
काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न, पीडित पत्रकारहरूलाई राहत दिन र पत्रकार सुरक्षाका लागि प्रभावकारी कदम चाल्न महासंघ धनुषाले सरकारलाई सात दिने अल्टिमेटम दिएको छ ।
महासंघले धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियालाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै तत्काल आवश्यक कदम चाल्न माग गरेको छ । महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई पाँच प्रमुख मागहरू राखेको छ ।
महासंघले मृतक पत्रकारका परिवारलाई उचित क्षतिपूर्ति तथा रोजगारीको व्यवस्था गर्न माग गरेको छ । साथै, उनका सन्तानको उच्च शिक्षाका लागि विशेष कोष स्थापना गर्नुपर्ने माग राखिएको छ । घाइते पत्रकारहरूको तत्काल उपचार तथा सञ्चारगृहहरूले व्यहोरेको क्षतिपूर्ति दिनुपर्ने महासंघको माग छ ।
महासंघले यो घटनालाई प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भन्दै दोषीहरूलाई कानुनी कठघरामा ल्याउन आग्रह गरेको छ । महासंघका अध्यक्ष पुरन साहले चेतावनी दिँदै भने, ‘यदि सरकारले एक हप्ताभित्र हाम्रो माग पूरा गरेन भने पत्रकारहरू देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेछन् ।’
काठमाडौंको तीनकुनेस्थित प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीहरू परिचालित भए पनि आक्रोशित प्रदर्शनकारीहरूले पत्रकार तथा सञ्चारमाध्यमहरूलाई लक्षित गर्दै आक्रमण गरेका थिए । भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गयो ।
प्रदर्शनकारीहरूको भीडले अन्नपूर्ण पोस्ट दैनिक कार्यालयको भुइँतल्लामा आगो लगाएको थियो । त्यस्तै, कान्तिपुर टेलिभिजन र हिमालयन टेलिभिजनका भवन तथा सवारी साधनमाथि तोडफोड गरिएको थियो ।
घटनामा संलग्न प्रदर्शनकारीहरूले पत्रकार दिनेश गौतममाथि कुटपिट गर्दा उनको खुट्टा भाँचिएको छ भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।
महासंघले सरकारलाई यस्ता घटनाहरू रोक्नका लागि दीर्घकालीन सुरक्षा योजना ल्याउन आग्रह गरेको छ । पत्रकारहरूमाथि निरन्तर आक्रमण भइरहँदा सरकारले आवश्यक सुरक्षा उपाय नअपनाए नेपालमा प्रेस स्वतन्त्रता संकटमा पर्ने महासंघको चेतावनी छ ।














