काठमाडौं, ८ चैत । विराटनगर महानगरपालिका–२ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार खुकुरी प्रहारबाट अन्दाजी ५५ वर्षीय रमेश गुप्ता घाइते भएको छ । उनको घाँटीमा गम्भीर चोट छ । उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको हो ।
स्थानीय अन्दाजी २८ वर्षीय सक्षम सापकोटाले राति साढे ८ बजे खुकुरी प्रहार गरेका हुन् । राय र सापकोटा चिनजानका व्यक्ति छ । केही समयअघि रायले सापकोटाको घरमा काम पनि गरेका थिए । धारिलो हतियार प्रहारको कारण खुलेको छैन ।
प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागूऔषध प्रयोगकर्ता रहेको खुलेको डीएसपी जोशीले बताएको छ । घर अगाडि खुकुरी प्रहार गरेर सापकोटा भान्सा कोठामा पसेका थिए ।
प्रहरीले ढोका फोडेर हेर्दा उनी भान्सा कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भइसकेका थियो । फरार रहेका सापकोटाको खोजी भइरहेको जोशीले जानकारी दिएको हो ।














