जनकपुरधाम, फागुन २१ गते । जनकपुरधाममा आयोजित प्रादेशिक ललितकला प्रदर्शनी २०८१ को उद्घाटन समारोहमा मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवद्वारा पत्रकारहरूको भूमिकाबारे दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गरेको छ ।
मन्त्री यादवले केही पत्रकारहरू फोनमार्फत विज्ञापन तथा योजना माग्ने, नदिए धम्क्याउने, विरोधमा समाचार प्रकाशन गर्ने आरोप लगाएका थिए । महासंघले कुनै पत्रकारले आचारसंहिताविपरीत कार्य गरेको प्रमाण भए सार्वजनिक गर्न आग्रह गरेको छ ।
प्रमाण बिना सम्पूर्ण पत्रकार समुदायलाई शंकाको घेरामा पार्ने अभिव्यक्ति अस्वीकार्य रहेको महासंघको भनाइ छ । यदि मन्त्री यादवसँग यस्ता गतिविधि गर्ने पत्रकारको प्रमाण छ भने नाम सार्वजनिक गर्न आग्रह गरिएको छ, अन्यथा गैरजिम्मेवार अभिव्यक्ति सच्याउन अनुरोध गरिएको छ ।














