गण्डकी, २९ पुस । गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ ।
खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइहेको जानकारी दिएका छन ।
संघ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपिभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा सामवेश गरेर यो खोपलाई नियमित खोप सेवाको रुपमा प्रदान गर्ने नीति लिए बमोजिम कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरी खोप प्रदान गर्न लागिएको हो ।
भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको महानिर्देशक खड्काले बताएका छन । डा.ओझाका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई सबैभन्दा बढी लाग्ने क्यान्सरको दोस्रो स्थानमा पर्छ ।
क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनेमा भने पहिलो मुख्य कारण पाठघरको क्यान्सर रहेको उनको भनाइ छ । यसअघि सरकारले आव २०७२÷७३ र २०७३÷७४ मा नमूनाका रुपमा चितवन कास्कीमा उक्त खोप कार्यक्रम सञ्चालन गरेको थियो ।