एजेन्सी । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ ।
आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका तस्विरले यो विपत्ति कति ठूलो छ भन्ने स्पष्ट बुझ्न सकिन्छ ।
सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटिएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूख ढालेका छन् ।
लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन् र वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन्। यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँको चादरले ढाकिएको छ ।
लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । यीमध्ये अधिकांश मानिसहरूले आफूले बोक्न सक्ने सामान लिएर आफ्नो घर छोडेका थिए ।