जनकपुर, २४ पौंस । धनुषाको औरही गाउँपालिकामा बुधबार महिलारोगसम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
यो स्वास्थ्य शिविर औरही ४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह र अध्यक्षता वडा नम्बर ४ का वडा अध्यक्ष जिनिशलाल मण्डलले गरेका थिए ।
शिविरमा सहभागी भएका नागरिकहरूले विभिन्न महिलारोगहरूको परामर्श र उपचारका लागि निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरे । कार्यक्रममा उपाध्यक्ष पुनम कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार यादव, स्वास्थ्य शाखा प्रमुख फेकन यादव र अन्य स्वास्थ्यकर्मी तथा डाक्टरहरूको सहभागिता रहेको थियो ।
स्थानीय वासिन्दाले शिविरमा प्रदान गरिएका सेवाहरूको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा यस प्रकारका पहलहरूको निरन्तरता चाहेको बताएका थिए ।
शिविरमा सहभागी भएका सैयो जना महिलाहरूले स्वास्थ्य परीक्षण, उपचार र परामर्शको लाभ उठाए, जसबाट महिला स्वास्थ्यको अवस्था सुधार गर्ने उद्देश्यलाई महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरिएको छ ।