काठमाडौँ, १९ पौस । दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्न प्रहरी अधिकारीहरू उनको निवास पुगेको हो ।
स्थानीय समयअनुसार बिहान ८ बजे सुरुमा २० जना प्रहरी अधिकारीहरू यउलको घरतर्फ गएका थिए । डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको ‘मार्शल ल’ लागू गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो । तर यउलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउपुर्जीलाई “कानुनविपरीत” भन्दै त्यसलाई चुनौती दिने बताएका छ ।
यउलको सुरक्षा दिने फौजले पनि उनलाई पक्राउ गर्नबाट रोकिरहेको जानएको छ । यसै साताको सुरुमा सोलस्थित एक अदालतले यउलविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए । सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ । त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ । सैनिक कानुन ल्याएपछि उनीविरूद्ध संसदमा दर्ता भएको महाभियोग पारित भएको थियो । महाभियोगको प्रक्रिया संवैधानिक अदालतबाट टुंगिन बाँकी छ ।