एजेन्शी, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्नेबित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
“मलाई लाग्छ हामीले रुससँगको युक्रेनको युद्धको समाधान खोज्नुपर्छ,’’ अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई शनिबार दिएको एक अन्तर्वार्तामा भने ।ट्रम्प सन् २०१९ मा भएको भीषण आगलागीपछि ‘नोट्रे डम क्याथेड्रल’ पुनः सञ्चालनका लागि शनिबार पेरिस आएका थिए ।
फ्रान्स भ्रमणका क्रममा उनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । जेलेन्स्कीले मंगलबार युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्पको दृढ सङ्कल्पप्रति आफू कृतज्ञ रहेको बताएका थिए ।